२०८२ असार ३ मङ्गलबार

राशिफल

जहाँ गोठबाहिर पनि छाउपडी हुन्छ

Sujata Lama, class 12 student. She has married last year after an affair.

१६ वर्षीया गीता मिजारको काँधमा सम्पूर्ण घरायसी कामदेखि मेलापात र गाईवस्तुको हेरचाह गर्ने जिम्मेवारी छ । महिनावारी भएको समयमा समेत उनी बिहानै ३ बजे उठेर घाँस–दाउरा गर्छिन् । तर, न उनले कसैलाई छुन मिल्छ न घरमा बस्न नै । उनी छाउ गोठमा रात बिताउन बाध्य हुन्छिन् ।
छाउ गोठ अर्थात महिनावारी भएका युवतीका लागि एउटा अध्यारो संसार । जहाँ उनीहरु डर, त्रास र भयबीच रात काट्छन् । अलिअलि आफूजस्तै मानिसहरुको, अलिअलि जनावर र किरा, फट्याङ्ग्राको ।
तर, धर्म–संस्कृतिको नाममा रचिएको अन्धविश्वासी परम्परासामू उनीहरुको कुनै शीप चल्दैन । न बिवसताले जित्न सक्छ न उनीहरु छाउ प्रथा बहिस्कार नै गर्न सक्छन् ।
यसरी सन् २००५ मा प्रतिबन्ध लगाइएको र २०१८ मा दण्डनीय घोषणा गरिएको छाउपडीले अछामको ओली गाउँका गीताहरुमा कुनै परिवर्तन ल्याउन सकेको छैन ।
सदरमुकाम मंगलसेनबाट हिँडेर १ घन्टाको दूरीमा रहेको सो गाउँमा क्षेत्री, परियार र मिजार थरका बासिन्दाको बसोबास छ । धेरैजसो घरमा पुरुष नै छैनन् । उनीहरु कामको सिलसिलामा भारत पुगेका छन् । गाउँमा भएका युवाहरुमा पनि त्यहाँ बस्न रुची छैन ।
धेरै घरमा युवतीका हजुरआमा र आमा छन् । त्यै पनि आफूले भोगेको नियती आफ्नी छोरीले भाग्नु नपरोस् भन्ने उनीहरुलाई कत्ति पनि लाग्दैन ।
ओली गाउँका यिनै चेलीहरुको कथालाई फोटो पत्रकार उमा विष्टले तस्बिरमार्फत उतारेकी छन् । २० दिन यी चेलीहरुसँग बिताएकी उमाले उनीहरुको भोगाईमात्र होइन, ह्यदयसमेत पढ्ने प्रयास गरिन् । ठमेलको छाँया सेन्टरको छैठो तलामा ती चेलीका ह्दयका कथा बोलिरहेका छन् ।
०००
छाउपडीबारे बुझेदेखि नै उमामा आफ्नै आँखाले यस प्रथा नियाल्ने चाहना थियो । चाहना पुरा भयो पनी । छाउपडीको बिकराल अवस्था आफ्नै आँखाले देखेपछि उनको मनमा एउटा प्रश्न खेल्यो, ‘छाउगोठ भित्रको कथा त धेरै आए, धेरै पढिए र धेरै सुनिए पनि तर, गोठबाहिरको वास्तविकता के रहेछ त ?’
यही प्रश्नको उत्तर खोज्न उमाले ओली गाउँमा २० दिन बिताएकी हुन् । भन्छिन्, ‘गोठमा ५ वा ७ दिनसम्म छाउपडी हुन्छ तर, गोठबाहिर त हरेक दिन छाउपडी हुँदोरहेछ ।’
यसरी छाउ प्रथाले उनीहरुको दैनिक जीवनशैलीमा नै असर पुगेको छ । भर्खर बोल्न जानेको बच्चालेसमेत ‘यो त छाउ भएकी छ’ भनिदिन्छ । छाउ भइसकेपछि एक्लै कतै जान बन्देज लगाइन्छ र अरुसँग बोल्दा पनि ख्यान गर्नुपर्छ ।
‘छाउ भएकी युवती कुनै केटासँग बोलीमात्र भने पनि गाउँभर कुरा काट्न थाल्छन्’ यी सबै कुरा नजिकबाट नियालेकी उमा सुनाउँछिन्, ‘यसरी उनीहरु गोठबाहिर झन् बढी मानसिक पीडा महसुस गर्छन् ।’
कतै हिँड्दा वा घरमा धामी आउँदा यो छाउ भएकी हो कि होइन भन्दै गरिने अनेकन प्रश्नले कलिलो उमेरमा युवतीहरुको मानसिकतामा नकारात्मक असर परेको उमाले महसुस गरेकी छन् । ओली गाउँका चेलीले यसकै सामाना गरिरहेका छन् ।
स्कुलमा कसैलाई छोप्ने ब्यथा (छाहारे रोग) लाग्यो र बेहोस भयो भने पनि कसैले छुँदैन । छाउ भएकी युवतीले छोएका कारण देउता लागेको भन्दै सबै टाढा–टाढा भाग्छन् । अस्पताल लाने कुरा त परै जाओस् । उसलाई कुनै रोग पो लागेको हो कि, बिरामी पो भएकी हो कि भन्ने कसले सोचिदियोस् !
यस्ता घटना गाउँघर फैलन्छन् । जसले गर्दा युवतीहरुमा छाउसम्बन्धमा अर्को मानसिक पीडा थपिन्छ ।
अझ अरुलाई छाउपडी बार्नु हुँदैन भन्ने सल्लाह दिने स्वयंमसेवीकाले नै बारेको देख्दा उमालाई अचम्म लागेको छ । अनि त हरेकको घर–परिवारमा छाउपडीबारे उनै स्वयंमसेविकाको उदाहरण टक्राइन्छ । यस्ता कुराले युवतीहरुमा अन्धविश्वासप्रति झन् विश्वास बढ्न थाल्छ ।
०००
ओली गाउँका चेलीहरु वनमा स्वतन्त्र महसुस गर्छन् । उनीहरु खुलेर हाँस्ने, एकअर्कासँग मनको बह बिसाउने थलो वन नै हो ।
घरमा रहँदा खुलेर हाँस्दा, बोल्दा देवर, दाजु–भाइ, बुबाले सुन्छन् र केही भन्छन् कि, गाउँलेले सुन्छन् र अरुसँग कुरा काट्छन् कि भन्ने भय पालेर बस्नुपर्छ । त्यसैले साथीसँग भेट हुने र मनको कुरा साट्ने स्थल पनि वन नै हो ।
उनीहरुका लागि सपनाको सहर हो, वन । जहाँ उनीहरु हाँस्न, रमाउन र खेल्न मात्र होइन गुनगुनाउन पनि पाउँछन् । आफ्नो दैनिकी र विद्यालयका कुरा गर्छन् ।
साथै, समूहमा बसेर छलफलसमेत गर्ने गर्छन् । छाउको विषयमा कुरा गर्छन् । उमाले पनि उनीहरुसँग वनमा केही पल बिताएकी छन् । भन्छिन्, ‘उनीहरुलाई छाउविरुद्ध आवाज उठाउन समूह चाहिएको छ तर, साथ दिने कसले ?’
उमाले वनमा रुखमा चढेर युवतीहरुले देउडा गीत गुनगुनाएको पनि सुनिन् । उनले भाषा त बुझिनन् तर, महसुस गरिन् उनीहरु गीतमार्फत आफ्नो पीडा बिसाइरहेका छन् । पीडा बिसाउन पनि स्वतन्त्रता चाहिन्छ । जुन स्वतन्त्रता ओली गाउँका युवतीहरु वनमा महसुस गर्छन् ।
त्यसैले त उमाले फोटो प्रदर्शनीको शीर्षक नै राखिन्, ‘वनका हाम्रा गीत ।’
साथै, वनमा छाउप्रतिको भ्रम र यथार्थबारे पनि कुरा हुन्छ । एकपटक गीता मिजारले महिनावारी हुँदा कसैलाई नभन्ने निर्णय गरिन् । घरमा आफै खाजा बनाइन्, खेतालालाई खान दिइन् । छिमेककी हजुरआमालाई पनि छोइन् ।
गीताले ती हजुरआमाले छाउ भएकी महिलाले छुँदा मान्छे बौलाउँछ, धामी आउँछ भन्ने सुनेकी थिइन् । तर, उनलाई विश्वास लागेको थिएन । त्यसैले आँट गरेर डरका बीच उनलाई यथार्थ पत्ता लगाउनु थियो । त्यसका लागि उनले निकै ठूलो हिम्मत जुटाएकी थिइन् ।
तर, कसैलाई केही भएन । न देउता लागे न अनिष्ट नै भयो । त्यसपछि गीतालाई यी सबै कुरा भ्रममात्र रहेछन् भन्ने एकिन भयो । अब उनलाई छाउ बार्ने मन छैन । बाध्यता र बिवसता छ ।
वनमा गीताले यो कुरा आफ्ना अन्य साथीलाई पनि सुनाएकी छन् । तर, एकजुट भएर छाउविरुद्ध लड्ने आँट कसैमा छैन ।
उमा भन्छिन्, ‘यसरी भ्रमको अन्त्य त भएको छ तर, उनीहरुको मनमा डर भने जीवितै छ ।’
१८ वर्षीया तेजना खनाल यसको एक उदाहरण हुन् । छाउपडी अन्धविश्वास हो भन्ने चाल पाएकी उनी धर्म र संस्कृतिमा विश्वास गर्ने भएकाले छाउपडीका सामाजिक नियम नमान्दा केही अनिष्ठ होला कि भन्ने डरमा बाँचिरहेकी छन् ।