बाग्लुङ बलेवामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आइरहेका युवा आख्यानकार हुन्, मीनराज बसन्त । वैदेशिक रोजगारीमाथि लेखिएको उनको पहिलो उपन्यास ‘मुदिर’ अत्यन्तै चर्चित रह्यो । त्यसका लागि उनले थुप्रै पुरस्कार र सम्मान पाए । उनै बसन्तको दोस्रो उपन्यास ’पिपिरी’ बजारमा आएको छ । यसै विषयमा केन्द्रीत रहेर उनलाई ५ प्रश्न छः
१. उपन्यासको नाम पिपिरी नै किन राख्नुभयो ? यसमा कस्ता खालका कथा र विषय समेटिएका छन् ?
‘पिपिरी’ नामसँग मलाई भयंकर मोह छ । जबजब म यो नाम सम्झन्छु, गाउँ सम्झन्छु । गोठालो जीवन, उकाली–ओराली गरेको सम्झन्छु । हृदयमा एउटा तरंग उठ्छ । जसले मेरो बाल्यकाल सम्झाउँछ । म युवाबाट बच्चा बन्दै गाउँ फर्कन्छु । पिपिरी बच्चाले बनाउने एउटा बाजाको नाम हो । साल, चिलाउने वा अन्य कलिला पातबाट यो बन्छ, बज्छ । तर, सहजै र सन्तुलित तरिकाले यसलाई बजाउन वा पूर्ण लय निकाल्न सकिँदैन । गाह्रो पर्छ । यही बिम्वलाई मैले उपन्यासमा ‘रिलेट’ गरेको हुँ । विषय र कथाका हिसाबले यो समाजभित्रकै कथा हो । मूल कथा त एउटा गाउँले बालकको उसको बाल्यकालीन समय र त्यसको विविध गतिविधि नै हो । एउटा बालकको आँखाबाट समाज र आफ्नै बाल्यकालबारे बोल्छ पिपिरी ।
२. उपन्यासमा प्रेम हाबी छ या समाज ? अर्थात, यो सामाजिक उपन्यास हो कि प्रेमिल ?
उपन्यासमा हाबी केही पनि छैन । जति छ, सन्तुलित रूपमै छ । समाज छ, समाजभित्रको अँध्यारो पक्ष छ । अभाव छ, दमन छ । प्रेम, करुणा र घृणा छ । त्यसलाई समाजसँग जोडेर हेर्दा पिपिरी असामाजिक हो भन्ने लाग्दैन । सबै स्वादको मिश्रित रूप हो, पिपिरी । समाजभन्दा पर गएर लेखन हुन सक्दैन । स्वैरकल्पनामा पनि त परिवेश, तिनको स्थान, चरित्र आदि निर्माण गरिन्छ नि ।
३. पहिलो कृति चलेका लेखकको प्राय दोस्रो कृति पहिलोभन्दा कमसल सावित हुँदै आएको छ । तपाईंको सवालमा पनि त्यसो नहोला भन्ने के ग्यारेन्टी ?
हो, नेपालको सन्दर्भमा लेखकको दोस्रो कृति सकसको विषय बन्दै आइरहेको छ । यसको मतलब कमसल नै त होइन । तर, पहिलो कृतिले पाठक हृदयमा जुन खालको प्रभाव र लेखकबाट जुन अपेक्षा गर्ने बनाउँछ, दोस्रो कृतिमा त्यसको तालमेल नमिल्दा दुर्घ्टित हुन जान्छ । एउटा लेखकले पहिलोको तुलनामा दोस्रो कृति कमजोर दिउँ भन्दै भन्दैन । मेरो दोस्रो कृतिको सन्दर्भमा त्यसो नहोला भन्छु । किनकि, मुदिरभन्दा पनि बढी मन परेको हो, पिपिरी ।
४. अरुको पुस्तकभन्दा पिपिरीमा पाइने नयाँपन के हो ? पाठकले तपाईंको पुस्तक किन पढ्ने ?
एउटा भनाइ छ, ’संसारमा लेखिन बाँकी केही छैन । तर, अब कसरी लेखिन्छ भन्ने मात्रै हो ।’ यदि यो भनाइ अनुसार जाने हो भने मैले लेखेको विषय पनि कुनै नवीनतम् होइन । एउटा गाउँले बालकको रहरलाग्दो बाल्यकालीन कथा लेखेको छु मैले । जसलाई पढ्दा हरकोही आफ्नो बाल्यकालतिर फर्कन्छ नै । मैले जुन ठाउँ, जुन आञ्चलिकता र जेजसरी लेखें, त्यो नै पिपिरीको नयाँपन हो । एकपटक आफूले छोडिआएको तर फेरि प्राप्त गर्न नसकिने बाल्यकालतिर फर्कन पनि पाठकले पिपिरी पढिदिउन् ।
५. नेपालमा पुस्तक लेखेर बाँच्न कत्तिको सहज छ ? प्रकाशन गृह लेखकप्रति (रोयल्टीमा) कति इमानदार छन्जस्तो लाग्छ तपाईंलाई ?
नेपालको सन्दर्भमा सबै लेखक लेखेरै मात्र बाँच्न सजिलो अवश्य छैन । केही अग्रजहरू छन्, जसलाई एकै हातको औंलामा गन्न सकिन्छ । म पनि त्यही बाटो पछ्याइरहेको एक यात्री लेखक हुँ । लेखक बाँच्नको लागि आधारभूत कुरा भनेको पुस्तक चल्नू हो । पुस्तक चल्नका लागि लेखकले त्यहीअनुसार मिहिनेत गर्नुपर्ने हुन्छ । अनि त्यसको बिक्रीबाट आउने रोयल्टी नै लेखकको बाँच्ने आधार हो । पछिल्लो समयलाई हेर्दा, लेखकले ’साइड जब’मा पुस्तक मात्रै लेखिरहेका छैनन् । फिल्म, नाटक, गीतलगायत थुप्रै प्रोजेक्ट गरिरहेका छन् । यसले पनि सहयोग गरिराखेको छ ।
रोयल्टीबारे प्रकाशन गृहपिच्छे फरकफरक नीति हुन्छन् । यसलाई लिएर बजारमा थुप्रै कुरा पनि नसुनिएका होइनन् । हो, केही प्रकाशन गृह बैमानी गर्न हिचकिचाउँदैनन् । समयमा रोयल्टी नदिने, गरिएको सम्झौताअनुसार नजाने आदि इत्यादी छन् । मैले धेरै प्रकाशकसँग काम गरेको छैन । दोस्रो किताबको दोस्रै प्रकाशक हो, फिनिक्स बुक्स । त्यसैले अनुभव बटुल्दैछु, हेर्दैछु । यसकारण पनि म धेरैकुरा भन्न सक्दिन । एउटा कुरा के चाहिँ हो भने, प्रकाशकले ‘यति प्रति बिक्यो’ भनेकै भरमा लेखकले चित्त बुझाउनुपर्ने, विश्वास गर्नुपर्ने स्थिति छ ।
तपाइँको प्रतिक्रीया