नेकपा एमालेले माधव नेपाल पक्षका सांसदहरुलाई पाँच बुँदे स्पष्टिकरण सोधेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा अोलीले संघ र प्रदेशका ३२ जना सांसदलाई स्पष्टिरण सोधेका हुन् ।
पत्रमा नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न भएको कारण के हो ? भन्दै स्पष्टिकरण मागिएको छ ।
कर्णाली प्रदेशसभा सदस्यलाई उचाल्दै फ्लोर क्रसजस्तो अनुशासनहीन र आपराधिक कार्य गराएकोले पार्टी र संसदीय दल परित्याग गरेको हुनाले ‘सांसद सदस्य पदबाट मुक्त किन नगर्ने ?’ भन्दै प्रश्न सोधिएको छ ।
‘केन्द्रीय कमिटीको दशौं, ११ औं र १२ औं बैठकहरुको निर्देशनको अवज्ञा गरि, उपरोक्त बैठकका निर्णयहरुको बारेमा विभिन्न भ्रम र्सिजना गरी पार्टीको विधान र निर्देशन विपरित नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न हुनुभएको कारण के हो ?’, पत्रमा भनिएको छ ।
त्यस्तै पार्टीको हित विपरित वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीको विधान निर्णय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीको निर्णय बारम्बार उल्लंघन गरेको पार्टीलाई विभाजनको दिशामा लान अनुचित गतिविधि के केति कारणले गराएको ? भन्दै प्रश्न सोधिएको छ ।
प्रधानमन्त्री अोलीले यस्तै गतिविधि गर्दै गए जुनसुकै बेला पनि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन यो स्पष्टिकरण पत्र लेखिएको छ । तपाईलाई सच्चिनका लागि यो अन्तिम मौका हो’, पत्रमा उनले भनेका छन्।
तपाइँको प्रतिक्रीया