आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्रीमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न दिउँसो १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।
यसअघि कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव राख्न चाहेका थिए । तर, जसपाले कुनै निर्णय दिन नसक्दा छलफल जारी थियो । सोही बीच प्रधानमन्त्रीले विश्वासको मत दिने निर्णय गरेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक–एक सांसद छन् । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्रीलाई संसदको बहुमत १३६ मत चाहिन्छ ।
एमालेको सबै मत प्रधानमन्त्रीले पाएमा विश्वासको मतका लागि थप १५ मत चाहिन्छ । ओलीलाई जसपाका सांसदको भर छ । तर, आफ्नौ पार्टीबाट फ्लोर क्रस हुने सम्भावना पनि उत्तिकै छ । जसपा पनि एकजुट छैन ।
प्रधानमन्त्रीले विश्वासको मतका लागि पहल गर्ने र त्यसो हुन नसकेमा मंसिरमा निर्वाचन घोषणा गर्ने तयारी गरेको जानकारहरु बताउँछन् ।
तपाइँको प्रतिक्रीया