जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् । पूर्व राजपा र पक्षबीच मनमुटाव चलिरहेका बेला ठाकुरले हस्ताक्षर संकलन थालेका हुन् ।
ठाकुरले उनीहरुलाई बबरमहलस्थित पूर्व राजपाको कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका हुन् । तर, हस्ताक्षर के–का लागि भनेर खुलाइएको छैन ।
पूर्व समाजवादीका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षलाई राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महेन्द्र राय यादवसहित तीन केन्द्रीय कार्यकारिणी सदस्यले साथ दिएपछि ठाकुर अल्पमतमा छन् । यस्तोमा उनले आफ्नो पक्षका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं बोलाएर हस्ताक्षर संकलन गरेका हुन् ।
जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा पूर्व राजपाका २६ र पूर्व समाजवादीका २५ सदस्य छन् । लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सम्बन्धमा भएका निर्णयमा २६ जनाको हस्ताक्षर थियो ।
यसरी हस्ताक्षर गराउनुमा ठाकुरले बहुमत पुर्याएर लुम्बिनीमा कारबाहीमा परेका चार प्रदेश सांसदको कारबाही फुकुवा गर्ने, आफू संसदीय दलको नेता हुने, बाबुराम–उपेन्द्र पक्षमा लागेका नेतालाई फर्काउने र विश्वासको मत लिँदा प्रधानमन्त्रीलाई समर्थन गर्नेलगायतका कारण रहेको स्रोत बताउँछ ।
तपाइँको प्रतिक्रीया