रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि भोलि (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ नेकपा एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो छैन । यसअघि रामबहादुर थापा बादलको नाम आए तापनि उनले हार्ने अवस्थामा आफू चुनाव नलड्ने बताएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि उनलाई पार्टीबाट निस्कासित गरिएको थियो । सोही रिक्त स्थानमा बादल नै उम्मेदवार बन्ने कुरा थियो । तर, प्रतिपक्ष कांग्रेस, माओवादी, माधव नेपाल पक्षीय एमालेलगायत अन्य दलले गठबन्धन बनाएर डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि बादल हच्किएका हुन् ।
वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाताले वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य चयन गर्छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।
११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २–२ जना छन् । एमाले माधव पक्षमा २२ जना सांसद छन् ।
तपाइँको प्रतिक्रीया