विपक्षी दलहरुलाई बहुमतको सरकार गठनका लागि दिइएको समयसीमाको आज अन्तिम दिन हो । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा सकिन लाग्दा विपक्ष गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर देखिएको छ ।
सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) एकजुट हुन नसक्दा विपक्षीको नयाँ सरकार गठनको रणनीति फेल खान लागेको हो । कांग्रेस, माओवादी केन्द्र र जसपाको एक पक्ष नयाँ सरकार गठनका लागि सकारात्मक भए तापनि जसपा अध्यक्ष महन्थ ठाकुरले सहयोग नगर्दा सम्भावना कमजोर बन्दै गएको हो ।
अब एमालेको माधव नेपाल पक्षले राजीनामा दिएको एउटा सम्भावना कायम रहन्छ । प्रतिनिधिसभामा हाल कायम संख्या २७१मा नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ । तर, यसो भएमा महन्थ ठाकुरले राष्ट्रपतिलाई पत्र लेख्ने तयारी गरेका छन् ।
दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले फेरि केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने छ । यसरी सरकार बनेपछि ओलीले फेरि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाएमा संसद विघटन गरी देश पुन: चुनावमा जानेछ ।
तपाइँको प्रतिक्रीया