अमेरिकाको नेपाली समुदायमाझ सुपरिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन् २०२१–२०२३ कार्यकालको लागि ‘वोर्ड अफ डाईरेक्टर’ पदमा उमेदवारी दिएका छन् ।
सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई योगदान दिएका छन् । उनी हाल एनआरएन युथ कोअर्डिनेसन कमिटीका सदस्य छन्। उनले व्यवस्थापन विषयमा स्नातक तह र टुरिजममा स्नातकोत्तर गरेका छन् । विदेशमा हासिल गरेको सीप, क्षमता, दक्षता र पूँजीलाई नेपालको चौतर्फी बिकासका लागि सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको भनाई रहेको छ ।
एनआरएनलाई अझ व्यापक र प्रवासमा रहेका सबैको मन–मुटुमा बसाउनको लागि युवाहरुको प्रतिनिधित्व अनिवार्य रहनु पर्छ भन्नेमा उनी स्पष्ट देखिन्छन् ।
गैर आवासीय नेपाली संघप्रति युवाहरुको आकर्षण बढाई विभिन्न रचनात्मक काम गर्ने, प्रत्येक नेपाली संस्थाको सदस्य बन्नेतर्फ पहलकदमी गर्ने लाई आफ्नो एजेन्डा बनाएका विजय ज्ञवाली । समाजसेवाप्रतिको सानैदेखिको हुटहुटी, धेरै शुभचिन्तकहरुको उत्प्रेरणा र संस्थामा युवाहरुको सकारात्मक हस्तक्षेपका लागि आफ्नो उमेदवारीले संस्थाले परिकल्पना गरेको लक्ष्य प्राप्तिका लागि सानै भए पनि तरंग ल्याउनेमा उनि आशावादी देखिन्छन् । एनआरएनएलाई राजनीतिक हस्तक्षेप मुक्त गराई रहरलाग्दो संस्था बनाउनका लागि सधै लागिरहने प्रण पनि गरेको हुनाले अरू उम्मेदद्धवार भन्दा फरक रहेको बताउँछन् ।
गैर आवासीय नेपाली संघले आफ्नो उद्देश्य अनुरुप काम गर्न नसक्नु युवा, विद्यार्थी विभिन्न पेशामा आवद्ध विज्ञहरु लगायत सामान्य श्रम गर्ने श्रमिकहरु एनआरएनप्रति आकर्षित नहुनु , एनआरएन हुने खाने र त्यसैको आडमा राजनीति गर्नेहरुको संस्था भन्ने भान हुनुनै हो भन्ने आम नेपालीमा बुझाई परिवर्तन गर्ने उनको सोच छ। विदेशमा रहेको झण्डै साढ़े तीन लाख जनसंख्यामा २० हजारको हाराहारीमा मात्र सदस्यता लिनु र ती पनि कसैको खल्तीका भोट बन्नु बिडम्वनापूर्ण रहेको र यी सबै खाले विकृतिको अन्त्य गरी एनआरएनएलाई शुद्धिकरण गर्नुपर्छ भन्ने उनको भनाई छ ।
उनी भन्छन्, ‘गैर आवासीय नेपाली संघ सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले परदेशी माटोमा बसेर पनि हामीलाई सधै नेपाली बनेर र नेपाली भनेर बाँच्न रमाउन पाउनु पर्छ ।’
तपाइँको प्रतिक्रीया