कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनमा लाग्नुपर्ने बताएका छन्। क्रियाशील सदस्यता वितरण तथा नवीकरण र उत्पन्न बिबाद समाधान गरेर तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल तरूण दल अर्घाखाँची–काठमाडौंले गरेको भर्चुअल कार्यक्रममा उनले भने, ‘कांग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ ।’
केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए कांग्रेसभित्र अहिलेको समस्या नआउने बताए।
केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि कांग्रेस जुट्नुपर्ने बेला आएको बताइन् ।
केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनले अहिले कांग्रेस अप्ठ्यारो अवस्थामा भएको जनाउँदै यसबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए।
भदौ ७ देखि १० सम्म गर्ने भनिएको महाधिवेश एक साता पर सार्ने कांग्रेस पदाधिकारीको प्रस्ताव छ ।
तपाइँको प्रतिक्रीया