कांग्रेसमा गणतन्त्रको विषय उठाउँदा उहाँ (नरहरि आचार्य) को निकै विरोध भएको थियो । पार्टीलेसमेत बेलाबेलामा उहाँलाई स्पष्टिकरण सोधिरहन्थ्यो । म छक्क पर्थेँ र सोच्थेँ, ए बाबा कस्तो मान्छेसँग विवाह भएछ मेरो । प्रजातन्त्र नआउँदै पनि ऊ सधै स्पष्टिकरण नै बोकेर आउँथ्यो विश्वविद्यालयतिरबाट र आफ्नै पार्टीको हालिमुहालि रहेको बेला पनि पार्टीले उसँग स्पष्टिकरण नै लिइरहेको छ भन्ने लाग्थ्यो ।
उसले गणतन्त्र र संविधानको कुरा गर्दा मैले सुरुसुरुमा त्यति बुझिन पनि । गणतन्त्र भनेको के हो भन्ने विषयमा हाम्रो छलफल हुन्थ्यो, विवाद पनि हुन्थ्यो । कहिलेकाहिँ म यस्ता विवादका कुरा नगर भन्थेँ । कहिलेकाहिँ झगडा पनि गथेँ । किन भने उसले यस्ता कुरा उठाउँदा त्यतिबेलाको अवस्थामा चारैतिरबाट विरोध हुन्थ्यो र मलाई दु:ख लाग्थ्यो । तर, मैले गणतन्त्रको बारेमा नबोल भने पनि उसले बोल्न छाडेन ।
ऊ के भन्थ्यो भन्दादेखि, ‘राजतन्त्र र प्रजातन्त्र सँगसँगै लैजान हामीले धेरै प्रयास गर्यौँ तर, यही तानातानमा अगाडि बढ्न सक्दैन । त्यसैले अब गणतन्त्र चाहिन्छ ।’ अर्कोतर्फ मेरो बुबा भन्नुहुन्थ्यो, ‘कमसेकम सांस्कृतिक एकताका लागि त राजा चाहिन्छ । राजालाई कहिल्यै फालिहाल्नु हुन्न ।’ बुबाको कुरा पनि मलाई ठिकै लाग्थ्यो । त्यसैले गणतन्त्रको विषयमा म जहिल्यै अलमलिन्थेँ । गणतन्त्र, संविधानको कुरा सुन्दा असहज लाग्थ्यो ।
त्यसपछि धेरै घटनाहरु घटे । मुलुकको जीवनमा र हाम्रो जीवनमा पनि । राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिँदा म दिल्लीमा थिएँ, त्यहिँ बसेर काम गथेँ । नरहरिजी काठमाडौंमै हुनुहुन्थ्यो र उहाँ हराउनु भएको थियो । म उहाँलाई खोज्नलाई नेपाल आएँ । तर, उहाँलाई भेटिन । एक हप्तासम्म त के भएको छ नेपालमा भन्ने नै थाहा भएन । उहाँलाई खोज्न मलाई हैरान नै भयो ।
पछि थाहा भयो उहाँ समातिनुभएको रहेछ । हलचोक प्रहरी चौकीमा लगेको छ भन्ने जानकारी आयो । म उहाँलाई खोज्न त्यहाँ जाँदा प्रहरीले भन्यो, ‘ल्याउन त ल्याएको थियो तर, यहाँबाट कहाँ लग्यो हामीलाई जानकारी नै भएन ।’ त्यसपछि म ककनी गएँ । अनेकतिर खोज्दा खोज्दै मैले उहाँलाई बल्लतल्ल भेटेँ । यसरी विचार व्यक्त गरेकै आधारमा राज्यले नागरिकलाई समाएर बेपत्ता बनाउन खोजेको अवस्था थियो त्यतिबेला । अहिले त्यो परिस्थिति र मर्मलाई कतिपयले नबुझ्न पनि सक्छन् ।
यतिबेला नेपालमा गणतन्त्र आएको छ । गणतन्त्र भनेको मुलुकमा जनताको पद्धति सर्वोच्चता हुनु हो भन्ने मैले बुझेकी हुँ । तर, कतिपय साथीबाट गणतन्त्र आएपछि झन् अस्तव्यस्त भएको छ देशमा यो सही होइन रहेछ भन्दै विरोधका स्वरहरु पनि सुनेकी हु मैले । तर, यो कुरा म बुझ्दिन । किन भने आफू सर्वोच्च रहने स्थिति त राम्रो हो तर, गणतन्त्रलाई जसले राम्ररी चलाउन सकेका छैनन् विरोध त उनीहरुको गर्नुपर्ने हो । आजको समयमा जे भए पनि गणतन्त्रको विकल्प भनेको योभन्दा अझ उन्नत र अझ सुधारिएको गणतन्त्र विकल्प हो । निरंकुशता र तानाशाही प्रबृत्ति अब हामीलाई आवश्यक छैन ।
यी त पृष्ठभूमिका कुरा भए । पुस्तकको कुरा गर्दा यो पुस्तक (गणतन्त्रको यात्रा: वन्दी वृत्तान्त) उहाँ राजबन्दी रहेको अवस्थामा दिनहु: लेखेका टिपोट अथवा विवरण हो । जसमा पारिवारीक पृष्ठभूमिमा कुराहरु पनि आएका छन् । म पनि एउटा पात्र छु । खुसीको कुरा के भने नरहरिजीले सकारात्मक कुरामात्र पुस्तकमा लेख्नुभएको छ । म त्यतिखेर उहाँसँग नभएकाले पनि हुनसक्छ । किनकी पुरुषहरुले पत्नीको महत्व आफूलाई आवश्यक पर्दा ऊ आफूसँग नभएको बेला नै बोध गर्ने हुन् कि भन्ने पनि होला ।
पुस्तक निकाल्ने बेला पनि मैले केही समययता नरहरिजीको जागरुपता हेरिरहेकी छु । पुस्तकको पाण्डुसलपि खोज्ने, त्यसलाई टाइप गर्ने आदिमा उहाँ निकै सक्रिय हुनुभयो । अनि पुस्तकलाई २ पटकसम्म आफैले सम्पादन गर्नुभयो । यो सब देख्दा मलाई निकै खुसी लागेको छ ।
(नरहरि आचार्यद्धारा लिखित ‘गणतन्त्रको यात्रा: बन्दी वृत्तान्त’ पुस्तक विमोचन कार्यक्रममा शारदा (आचार्यकी श्रीमती)को भनाइ)
तपाइँको प्रतिक्रीया