२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बाढी–पहिरोको जोखिममा जलविद्युत आयोजना

यतिबेला देशघर बाढी–पहिरोको जोखिम छ । त्यसबाट अर्बौंको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाहरु प्रभावित भएका छन् । बर्खाका कारण हालसम्म एक दर्जन आयोजनाहरुमा पूर्ण तथा आंशिकरुपमा षति भएको छ ।

कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुग्नेमा पर्छ । सो आयोजनामा करिब एक अर्बको क्षति पुगेको छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अन्तिम काम सम्पन्न हुनै लाग्दा बाढीका कारण काम रोकिएको छ र विद्युत उत्पादन पनि पछि ढकेलिएको छ ।

बाढीका कारण ५४ मेगावाट क्षमताको सुपर दोर्दी (ख), १२ मेगावाट क्षमताको दोर्दी १, रसुवामा निर्माण भइरहेको रसुवागढी आयोजनाको टेलरेसबाट बाढी पसेको छ।

त्यस्तै, २५ मेघावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, २७ मेगावाटको दोर्दी खोला जलविद्युत्, मनाङका तिमाङ लघु जलविद्युत आयोजना र स्यार्कुखोला लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।मनाङका यी दुवै आयोजना संचालित थिए ।

आगामी आर्थिक वर्षमा भारतमा विद्युत निर्यात गर्ने सरकारको लक्ष्य रहेकोमा बाढी–पहिरो त्यसको बाधक बन्ने सम्भावना बढेको छ । साथै, यसले ठूलो आर्थिक क्षति पनि ब्यहोर्नुपरेको छ ।

यस्तो अवस्थामा अब जलविद्युत आयोजनाको स्थान छनोट गर्दा ध्यान दिनुपर्ने देखिन्छ । साथै, विभिन्न इन्जिनियरिङ अध्ययनहरु पनि आवश्यक पर्ने देखिन्छ ।