भोलि शुक्रबार सिंहदरबारमा ३ हजारभन्दा बढी इन्जिनियर तथा प्राविधिक पुग्ने भएका छन् । उनीहरुले सिंहदरबार घेराऊ गर्ने भएका छन् । आज उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले शुक्रबार सिंहदरबार घेराऊ गर्ने भएका हुन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकहरुले सिंहदरबार घेराऊ गर्ने जानकारी दिएको हो ।
समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै राजीनामा दिन वाध्य भएको बताए । उनले भने, ‘हाम्रो ११ असारबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद हुन्छ र आन्दोलनबाट माग पूरा गराउनका लागि पछि हट्दैनौं ।’
अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरुले एकमुस्ट राजिनामा उद्घोष गरेपछि मात्र सम्पुर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताए । उनले भने, ‘नेपालको प्राविधिक इतिहासकै सबैभन्दा ठुलो सफल आन्दोलन गरिसकेको समुहलाई पुनः आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको छ ।’ अमरले महामारीको समयमा प्राविधिकहरुलाई पुगेको क्षतिको विवरण र क्षतिपुर्तिको सरकारसँग माग गरे ।
तपाइँको प्रतिक्रीया