२०८२ जेठ २२ बुधबार

राशिफल

लाइसेन्समा नयाँ नियम, आफ्नै सवारीले ट्रायल दिन पाउने


सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि बनेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ साउन १ देखि लागू हुने भएको छ ।

यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो । जसमा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ । ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अब सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्न सुरु गरेको छ । विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।