२०८२ जेठ २२ बुधबार

राशिफल

निषेधाज्ञा उल्लंघन गर्ने ४८० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौँ – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ सय ७३ वटा गाडी र ३ सय ७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड – १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८१ जनालाई नि: शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ६ सय २७ जनालाई नि: शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८५ जनालाई कोभिड – १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ५ सय ८७ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।