काठमाडौँ — नेपाल सरकारले चिनबाट खरिद गरेको भेरोसेल खोप तीन पटक गरि नेपाल भित्र्याउन लागिएको छ। आउदो असार २५ ३१ र साउन ८ गरि तीन पटक सम्म नेपाल वायु सेवा निगमका तीन उडानबाट एक उडानमा १० लाख गरि जम्मा ३० लाख मात्रा खोप ल्याउने निर्णय भएको जानकारी निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताउनुभएको छ।
सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी स्रोतको छ ।
यसाघी जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको भेरोसेल खोप खरिदको सम्झौता गरे पनि गुपचुप राखेको थियो तर शुक्रबार साँझ विज्ञप्ति जारी गरेर चीनमा खरिद गरेको खोप ल्याउन लागेको सार्वजनिक गरेको हो ।
‘खोप खरिदको सम्झौताअनुसार असार २४ बाट सुरु भएपछि साप्ताहिक रूपमा खोप आपूर्ति गर्ने तयारी छ,’ स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ । जहाजले शुक्रबार १० लाख मात्रा खोप ल्याउने महानिर्देशक पौडेलले बताए । दोस्रो चरणमा असार ३१ मा जहाज पठाएर साउन १ मा १० लाख डोज ल्याइनेछ । तेस्रो चरणमा साउन ७ मा जाने जहाजले भोलिपल्ट अर्को १० लाख डोज खोप ल्याउनेछ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने व्यवस्था मिलाइने मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए । चीनबाट खरिद गरेको बाहेक गाभी कोभ्याक्स सुविधाको खोप पनि छिट्टै प्राप्त हुने मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया