२०८२ असार १८ बुधबार

राशिफल

९ दिनदेखि बेपत्ता भण्डारीको शव भेटियो

काठमाडौँ – ९ दिनदेखि चितवनबाट बेपत्ता भएकी सुजता भण्डारीको शव भेटिएको छ । आइतबार अपरान्ह शव भेटिएपछि परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । भण्डारीको अपरहण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् ।

घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो । प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बेपत्ता भएपछि फिरौति वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर) एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिएपनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन । तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ ।