२०८२ जेठ ३१ शुक्रबार

राशिफल

चितवनमा ८ दिनदेखि बेपत्ता विनाको खोजी जारी, उनका प्रेमी प्रहरी नियन्त्रणमा

चितवन – असार १४ गते रातिदेखि नवलपुर जिल्लाको गैडाकोट – ४ की २१ वर्षिया विना सापकोटा बेपत्ता छिन् । ८ दिनदेखि बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन ।

बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।

उनले भने, ‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म कुनै खोजखबर छैन ।’

गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।

‘पीर नगर्नु बुबा म आउँछु भनेकी थिई,’ बुवा जायेश्वर भन्छन्, ‘हराएको राति ३ पटक कुरा भएको थियो । त्यसपछि छोरीको आवाज सुन्न पाएको छैन ।

अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवाबिनाका प्रेमी भएको खुलेको बताए ।