काठमाडौँ – मंगलबारबाट उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखिनै काठमाडौँ उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
हाल काठमाडौँ उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए ।
विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए । काठमाडौँ उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो ।
सोमबार कोरोना संक्रमितको संख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताए ।
तपाइँको प्रतिक्रीया