२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भारतमा फेरि बढ्यो सङ्क्रमित सङ्ख्या, २४ घण्टामा ८१७ जनाको ज्यान गयो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार २८ पुगेको छ ।