काठमाडौं – शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यक्त गरेका छन् ।
सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।
नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् भने अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रीया