काठमाडौँ – साढे ३ वर्ष सत्ताको बागडोर सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट बिदा भएका छन्।
दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेका ओलीले दोस्रोपटक गरेको संसद् विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमवार सर्वोच्च अदालतले परमादेश दिएसँगै मंगलवार देशवासीको नाममा सम्बोधन गर्दै उनी बिदा भएका हुन् ।
आफ्नो सरकार जनताको हितमा काम गर्न सफल भएको र जनताको जनादेशले नभई सर्वोच्चको परमादेशका कारण आफूले बिदा लिनु परेकोमा उनको दुःखेसो थियो । ‘यो नै अन्तिम बिदाइ पनि होइन । जनादेशले नभई अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु’ उनले भने, ‘जनादेश मेरो पक्षमा थियो, अदालतको परमादेश देउवाजीको पक्षमा गयो ।’ आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
सरकारको उपलब्धिबारेमा समेत चर्चा गर्दै ओली पुनर्निर्माणदेखि कोरोना रोकथामसम्ममा सरकार सफल भएको दाबी गरे । कोरोनाभाइरस विरुद्धको २ करोड डोजभन्दा बढी खोप खरीद प्रक्रियाको टुंगो लागेको समेत उनको दाबी थियो । ओलीका अनुसार अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनसँग ५० लाख डोज, मोडर्ना र फाइजरसँग ४०÷४० लाख डोज तथा कोभिशिल्ड र अस्ट्राजेनेकाबाट २० लाख गरी १ करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरीदको टुंगो लागिसकेको छ ।
चीनसँग पनि थप ६० लाख खोप खरीदको टुंगो लागेको प्रधानमन्त्री ओलीले बताए। यी खोप कति मूल्यमा खरीदको टुंगो लागेको हो र कहिले आपूर्ति हुनेछ भन्ने उनले खुलाएनन् ।
सम्बोधनका क्रममा ओलीले सर्वोच्चको फैसलालाई लिएर असन्तुष्टि जनाए तर पनि संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले फैसला पालना गर्ने उनको भनाइ रहेको छ ।
तपाइँको प्रतिक्रीया