२०८२ असार ३ मङ्गलबार

राशिफल

जोनसन एण्ड जोनसन खोप लगाएको पौने तीन घण्टामा एक व्यक्तिको मृत्यु

काठमाडौँ – कोभिड– १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका धादिङका एक जना व्यक्तिको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलका अनुसार धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको हो ।

उनका अनुसार ७८ वर्षीय ती वृद्धले आज विहान साढे ११ बजे तिर खोप लगाएका थिए । आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर गएका र त्यसको झण्डै एकघण्टा पछि बेहोस जस्तो भएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएका थिए ।

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले बताए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।