२०८२ असार ८ आइतबार

राशिफल

घुस लिएको आरोपमा दुई जना प्रहरी पक्राउ

काठमाडौँ – त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार विमानस्थलबाट प्रहरी सहायक निरीक्षक (असई) सञ्जिब बस्नेत र प्रहरी जवान सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध कारोबारी गर्ने एक महिलासँग ९० हजार घुस लिएको आरोप छ । प्रहरी स्रोतका अनुसार उनीहरूले ती महिलासँग सुरूमा दुई लाख रुपैयाँ मागेका थिए । महिलाले ९० हजारमात्रै दिएपछि उनीहरूले थप १० हजार नगद माग गरिरहेका थिए। ती महिलालाई प्रहरीद्वयले बौद्धमा कार्यरत भएको जानकारी गराएका थिए ।

प्रहरीले नै हैरानी दिएपछि महिला बौद्ध वृत्त पुगेकी थिइन् । प्रहरी स्रोतका अनुसार ती महिलाले अहिले लागुऔषध कारोबारको काम छाडिसकेको बताएका छन् । प्रहरीद्वयले उनीबाट कहिले पैसा लिएको भन्ने परिसरले खुलाएको छैन ।

प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।