२०८२ असार ८ आइतबार

राशिफल

भदौरे झरीका कारण तीन दिनमा नौ जनाको मृत्यु

काठमाडौँ – भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री खाँणले आइतबार साँझ उदयपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीराम सेढाईं, नेपाल प्रहरीका उपरीक्षक र सशस्त्र प्रहरीका उपरीक्षक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग टेलिफोन संवाद गरेर कोसी नदीको कटान र बहावबारे जानकारी र्लिएका हुन्। उनले नागरिकलाई सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर भए पनि लैजान निर्देशन दिए। गोरखापत्र दैनिकमा चाँदनी हमालले खवर लेखेकी छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु, चार जना बेपत्ता र पाँच जना घाइते भएका छन् । बाढीपहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ।