काठमाडौँ – हलेसी तुवाचुङ नगरपालिका–९ चिचिङ्गाका २२ वर्षीय मनकुमार राईविरुद्ध शिक्षा राईका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् ।
२१ वर्षीया शिक्षा राई गत ७ भदौमा घरैमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर, उनको आत्महत्या नभई हत्या भएको भन्दै उनका श्रीमान् राईविरुद्ध आफन्तले आइतबार किटानी जाहेरी दिएको हो ।
‘आत्महत्या दुरुत्साहनअन्तर्गतको जाहेरीअनुसार अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी लम्सालले भने, ‘ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी पनि परेको छ । त्यसअनुसार पनि अनुसन्धान अघि बढाइएको छ ।’
शिक्षाका माइती पक्षले भने पटक–पटकको प्रयास र दबाबपछि आरोपितविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको बताएका छन् । तर, यसअघि आत्महत्या दुरुत्साहनको मुद्दा मात्र आएको प्रहरीले दाबी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती घर भएकी शिक्षाले वर्ष दिनअघि मनकुमारसँग विवाह गरेकी थिइन् ।
शिक्षाको मृत्यु शंकास्पद भएको भन्दै सुरुमै ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन खोज्दा प्रहरीले आलटाल गरेको मृतककी वडाबा बयानसिं राईले गुनासो गरे ।
आत्महत्या दुरुत्साहनसम्वन्धी उजुरी परेसँगै आरोपित मनकुमारलाई प्रहरीले ९ भदौमा पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहनसम्वन्धी कसुरमा उजुरी दिएर फर्किएका माइती पक्ष पुनः १० भदौमा ठूली आमा पार्वती राईको नामबाट ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले ज्यानसम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन नमानेको काका ज्ञानबहादुर राईले बताए ।
सुरुमा रुख कटहरको रुखमा झुण्डिएको भनेर खबर गरेपछि घट्नास्थल पुग्दा घरको बरण्डाको काठमा झुन्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइती पक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब सात फिट अग्लो बरन्डामा आफै डोरी झुन्ड्याउन नभेट्ने तथा डोरी झुन्ड्याउनका लागि केही पनि टुल्स प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत देखिएको, दाहिने कोखामा निलडाम देखिएको, देब्रे हातमा कोतारिएको देखिनुले शिक्षाको आत्महत्या नभई हत्या भएको पीडित पक्षको दावी छ ।#न्युजकारखाना
तपाइँको प्रतिक्रीया