काठमाडौँ – निर्देशक प्रदीप भट्टराई सर्ट फिल्मको तयारीमा रहेका छन् । पछिल्लो समय उनीसँग काम गर्न चाहनेको संख्या बढ्दो छ । लगातार तीन चलचित्र जात्रा, शत्रु गते र जात्रैजात्राले ५१ औं दिन पार गरेपछि आफूलाई बक्स अफिसमा सशक्त निर्देशकमा प्रस्तुत गरेका भट्टराईले नयाँ चलचित्रको तयारी थालेका छन् ।
कोरोना भाइरस महामारीका कारण सिनेमा हलसमेत खुल्न सकेका छैनन् । तर, भट्टराई भने अब चलचित्र क्षेत्रलाई चलायमान बनाउन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काममा फर्किनुको विकल्प नरहेको बताउँछन् । ‘अवस्था राम्रो हुँदा मात्र फिल्म बनाउने होइन नि, हामीले यतिबेला आँट नगरे कसले गर्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘यद्यपि हामीले अहिलेको अवस्थालाई मध्यनजर गरेर बजेट तयार गर्नुपर्छ ।’
भट्टराईले घोषणा गरेको प्रोजेक्टलाई केही समय होल्ड गर्दै नयाँ चलचित्रको तयारी गरिरहेका छन् । ‘यतिबेला ठूलो लगानीभन्दा पनि हाम्रो बजार सुहाउँदो लगानी गरेर फिल्मलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । उनी दसैँ, तिहारपछि नयाँ प्रोजेक्ट छायांकन गर्ने तयारीमा छन् । ‘बजारअनुसार मेकर्सले आफूलाई प्रस्तुत गर्नुपर्छ,’ उनले भने, ‘फेरि मैले जानेको नै फिल्म हो ।’
आफ्नो एकमात्र पेसा सिनेमा बनाउनु रहेकाले त्यसलाई निरन्तरता दिनुको विकल्प नरहेको उनी बताउँछन् । ‘सहज हुँदा फिल्म ल्याउने र कमाउने मात्र नगरेर हामीले निरन्तरता दिनुपर्दछ,’ उनले भने ।
निर्देशक भट्टराई फिचर फिल्म मात्र होइन, सर्ट फिल्म बनाउने तयारीमा समेत जुटेका छन् । उनले दुई सर्ट फिल्म निर्देशन गर्दैछन् । ‘सर्ट फिल्म आउँदो केही दिनमै सुरु हुने गरी तयारी गरिरहेका छौँ,’ उनले योजना सुनाउँदै भने, ‘नेपालमा ओटीटीको बजार छैन, यद्यपि कोसिस त गर्नै पर्छ ।’
उनले ओटीटीमा राम्रो लगानी गर्ने भए नेपाली फिल्म, सिरिज, सर्ट फिल्मले पनि दर्शकको साथ पाउने बताए । ‘यहाँ ओटीटीले निर्मातालाई उत्साहित गर्न सकिरहेका छैनन्, किनकि लगानी नै छैन,’ उनले भने, ‘नयाँ र हेर्न चाहेको कन्टेन्ट आएमा दर्शकले अवश्य हेर्नेछन् ।’
पछिल्लो समय नेपालमा नेटफ्लिक्स, प्राइम अमेजन भिडियो, डिज्नी प्लस हटस्टार, जी फाइभलगायतका ओटीटी प्लेटफर्ममा दर्शक छन् । तर ती दर्शकलाई नेपाली कन्टेन्टले आकर्षित गर्न सकिरहेका भने छैनन् ।
तपाइँको प्रतिक्रीया