तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको क्रियाशील सदस्यता रहेको वडामा शुक्रबार तय भएको अधिवेशन विवादका कारण स्थगित भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा दिनभर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको थियो । वडामा पौडेल निकट विपेन्द्र सेन ठकुरी र ऋषिराम महत सभापतिका आकांक्षी थिए । उनी गृहमन्त्री बालकृष्ण खाँण निकट मानिन्छन् ।
उम्मेदवारी दर्ताअगावै सहमतिमा नेतृत्व चयन गर्न महत ‘ब्याक’ भए । सभापतिमा ठकुरीको मात्रै उम्मेदवारी प¥यो । अन्य पदमा उम्मेदवार धेरै हुँदा दिनभर सर्वसम्मत गर्ने प्रयास जारी रहे पनि सफल नभएपछि साँझपख मतदान प्रक्रियाबाट छिनोफानो गर्ने निर्णय भएको थियो । तर, महत समूहले मतदानअगावै निर्वाचन सामग्री जफत गरेपछि विवाद उत्पन्न भएको हो ।
वडा अधिवेशनमा प्रयोग भएको माइन्युटलगायतका निर्वाचन सामग्री जफत भएको निर्वाचन अधिकृत कृष्णप्रसाद लम्सालले बताए । ‘सहमतिको प्रयास भइहेको थियो । केही पदमा निर्विरोध भइसकेको पनि हो । केही पदमा निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो । अन्तिमपटक सहमतिका लागि आग्रह गरौँ, भएन भने शनिबारलाई निर्वाचन गर्ने मनस्थितिमा थियौँ । त्यहीबेला निर्वाचन सामग्री जफत गरियो,’ उनले भने ।
गृहमन्त्री खाँणको शक्तिको दुरुपयोग गर्दै मतदान हुन नदिन महत समूहले निर्वाचन सामाग्री जफत गरेको पौडेल पक्षका एक नेताले बताए । ‘उहाँहरुले अराजक व्यवहार देखाउनुभयो । गृहमन्त्रीको आदेश छ भनेर लैजानु भो’, ती नेताले भने ।
यता, महत भने सहमतिमा आफू वडा सभापतिबाट ‘ब्याक’ हुँदा आफूसँग गरिएको सहमति पालना नभएकाले निर्वाचन सामग्री उठाएर जिल्लामा पठाएको बताउँछन् । ‘सभापति छोडिसकेको थिएँ । मैले मेरो प्रतिनिधि १४ जनाको नाम पठाएको थिएँ । इन्कार गरेर ६ जनामा मात्र सही गर भनेपछि सही गर्दिनँ भनेर खातापाता लिएर हिँडेको हो’, उनले भने ।
वडा अधिवेशनमा भएको यो घटनाले कांग्रेसभित्र हावी गुटगत राजनीतिलाई छताछुल्ल पारिदिएको छ । तनहुँका ८५ वडामध्ये केही वडामा अधिवेशन बाँकी रहेको कांग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले जानकारी दिए । ‘शुक्लागण्डकी नगरपालिका–८ मा अनिश्चित बनेको छ । केही वडामा आज हुँदैछ । अधिकांश वडामा अधिवेशन भएको छ । धेरैमा सर्वसम्मत भयो । केहीमा निर्वाचन भए । फाइनल रिपोर्ट आइसकेको छैन्’, उनले भने ।
तपाइँको प्रतिक्रीया