काठमाडौं – शनिबार थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनामा परीक्षण गर्दा एक हजार २६८ जनामा संक्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ जना रहेका छन् ।
संक्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ जना निको भइ घर फर्किएका हुन् ।
शुक्रबारको तुलनामा निको हुने दर आज बढेको छ । आज निको हुने दर ९४।५ प्रतिशत पुगेको छ । शुक्रबार निको हुने दर ९४।३ प्रतिशत थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको निधन भएको छ । निधन हुनेको संख्या यो महिनाकै कम हो । शुक्रबार २३ जना संक्रमितको निधन भएको थियो ।
अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५५४ जना सघन उपचार कक्ष (आइसियु), १७२ जना भेन्टिलेटर, २९ हजार ६५८ जना होम आइसोलेसन, दुई हजार १६८ जना संस्थागत आइसोलेसन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
तपाइँको प्रतिक्रीया