२०८२ असार ८ आइतबार

राशिफल

संखुवासभा हत्याकाण्ड : सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला, १ जना जीवितै

विराटनगर – संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी कार्यालय रानीले जनाएको छ ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।

तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नातिरनातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनकाअनुसार मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन् ।