२०८२ असार ८ आइतबार

राशिफल

तिजमा पानी पर्छ कि पर्दैन ? यस्तो छ ३ दिनको मौसम

काठमाडौं – बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड – १९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि कोभिड – १९ कै जोखिम छ ।

यद्यपि, तिजमा ब्रत बस्ने, एकाघर परिवारमा रमाइलो गर्दा समस्य नहुने जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

अर्को चिन्ता छ – आइतबार साँझबाट मौसम प्रतिकूल बनेपछि यो पटकको तिज पनि हिलोमय हुने त होइन ? आइतबार रातिकोजस्तो ठूलो वर्षा नभए पनि सोमबार राति पानी परेको छ ।

मंगलबार बिहान काठमाडौंसहितको आकाशमा बादल लागेको छ – प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार दिउँसो भारी वर्षाको सम्भावना नभए पनि बादल लागिरहने र बेलाबेला पानी पर्नसक्ने उनले बताए । जसले तिजको पूजाआजा गर्न मठमन्दिर हिँडेका नारीलाई असर गर्नसक्छ – सडकमा हिलो बढ्न सक्छ ।

तर, तिजको दिन अर्थात बिहीबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसको असर काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् सापेकाटाले उल्लेख गरे ।