काठमाडौँ – ट्यांकरबाट डिजेल ढुवानी गर्दै आएको नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि करिव सवा पाँच अर्ब रूपैयाँ जोगिएको छ। दुई वर्षको अवधिमा एक अर्ब ६२ करोड ६० लाख लिटर डिजेल पाइपबाट आयात भएको छ।
डिजेल आयात गर्दा लाग्ने करिब चार अर्ब ४७ करोड रूपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानी बापत तिनुपर्ने करिब ८८ करोड रूपैयाँ जोगिएको छ। पाइपलाइन सञ्चालन भएको भदौ २४ गते दुई वर्ष पूरा भएको छ। दुई वर्षमा डेढ अर्ब लिटरभन्दा बढी डिजेल आयात भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पाइपलाइन निर्माण गरेपछि २०७६ भदौ २४ बाट पाइपलाइन सञ्चालनमा आएको थियो।
पाइपमार्फत दुई वर्षमा एक अर्ब ६२ करोड ६० लाख लिटर ९१६ लाख २६ हजार किलोलिटर – डिजेल ल्याएको नेपाल आयल निगम प्रादेशिक कार्यालय प्रदेश नम्बर २ बाराका प्रादेशिक प्रमुख प्रदीप यादवले बताए। ‘पाइपबाट प्रतिघन्टा दुई सय ५० किलोलिटर डिजेल आयात भइरहेको छ,’ यादवले भने, ‘खर्चसँगै समयको बचत भएको छ।’
पाइपलाइन निर्माण भएपछि ढुवानी तथा प्राविधिक नोक्सानी बापत खर्च हुने रकम जोगिएको हो। पेट्रोलियम पाइपलाइनले डिजेलको आपूर्ति व्यवस्थापन मात्र नभएर ठूलो रकम खर्च हुनबाट जोगिएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘पाइपलाइनले अर्बौं रूपैयाँ जोगिएको छ,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘ढुवानी, तापक्रम तथा प्राविधिक नोक्सानी बापत तिर्नुपर्ने रकम जोगिएको हो।’ ढुवानी बापत तिर्नुपर्ने चार अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ। नागरिक दैनिकमा खबर छ ।
तपाइँको प्रतिक्रीया