काठमाडौँ – एमालेको बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन् ।
बुधबार अध्यक्ष ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन् । ‘हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ, ओलीले भने ।
सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ । बसेरै सम्बोधन गरेका ओलीले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पद भएको टिप्पणी गरे । ‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीको भनाइ छ ।
तपाइँको प्रतिक्रीया