काठमाडौं । पत्रकार तथा लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा शनिबार अभिनेत्री गौरी मल्ल, लेखक तथा पत्रकार अश्विनी कोइराला, लेखक आचार्य र पाठक कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गर्नु भएको हो ।
‘ब्लु डायरी’ विमोचन कार्यक्रममा अभिनेत्री मल्लले आफूले पुस्तकको पात्रका रुपमा आफूलाई अनुभूत गरेको बताउँदै यो पुस्तक हरेकको जीवनसँग मेल खाने खालको रहेको बताइन् ।
भनिन्, ‘मैले मेरो जीवनमा धेरै पुस्तक पढेकी छु । मैले पढेकामध्ये यो पुस्तकले मलाई निकै भाबुक बनायो । यसको सुन्दर कथाले पक्कै सबैको मन जित्न सफल हुनेछ ।’ उनले सबैलाई एकपटक यो पुस्तक पढेर जीवनबारे बुझ्नसमेत आग्रह गरिन् ।
लेखक आचार्यले आफूले यो पुस्तकबाट धेरै अपेक्षा गरेको बताउँदै मन परे ताली र मन नपरे गाली गर्न पाठकलाई आग्रह गरे । भने, ‘मलाई आफ्नो पुस्तक प्रिय छ, अब यो तपाईंहरुको पनि प्रिय बन्नेछ भन्ने अपेक्षा छ ।’
बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ ।
तपाइँको प्रतिक्रीया