काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।
पार्टीको विधान महाधिवेशन आज अन्तिमदिन सम्बोधन गर्दै पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताए ।
उनले भने, ‘बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने हो ।’ उनले विधान महाधिवशन ओलीमय भएको, पार्टीको साटो व्यक्तिलाई प्राथमिकता पाएको भन्दै आलोचना भइरहेका बेला ओलीले यो विरोधीहरुले एमालेमाथि गरेको हमला भएको बताए । उनले आफू बाँचेको र जनता–कार्यकर्ताले आफूलाई माया गरेकामा एमाले विरोधीहरु चिन्तित रहेको समेत टिप्पणी गरे ।
विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘यतिबेला हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे !’
उनले अघि भने, ‘हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं, तर लिडरसिप हुन्छ । लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुन्छ । यो स्वाभाविक हो ।’ कार्ल मार्क्स, पुष्पलालका वरिपरि पनि यसरी गोलबद्ध भएको स्मरण गर्दै एमालेले कमिटी प्रणाली र सामूहिकतामा विश्वास गर्ने उनले बताए । ‘नायकै नायक हुनुपर्छ, तर एकतावद्ध । जस्तो हाम्रो टिम छ । हामी थुप्रो नेता छौं, तर एकतावद्ध छौं’ एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामी एकतावद्ध भएनौं, सबै नेता भएर बुरुक्क उफ्रियौं भने जुन दिन रानो हुँदैन माहुरीको गोलो समाप्त हुन्छ ।’
तपाइँको प्रतिक्रीया