काठमाडौँ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।
नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक रु ५० हजारका दरले १८ जनाको परिवारलाई नगद रकम सहयोग प्रदान गरेको हो ।
नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए ।
नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताए । “सङ्क्रमणमा परेकालाई बचाउन हरतरहले उपचारको लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरुप सहयोग गरेका हौँ”, नगर प्रमुख वाइबाले भने, “विपद् र समस्यामा नगरबासीको साथमा सधैँभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौँ ।” नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए ।
तपाइँको प्रतिक्रीया