काठमाडौँ – अनुगमनका क्रममा त्रुटि देखिएपछि स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमन गरेको थियो । औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा परेका हुन् ।
“पहिलो चरणमा आठ वटा औषधि पसलमा सचेत गरायौँ भने पाँच वटालाई साङ्केतिक कारबाहीस्वरुप न्यूनतम जरिवाना गरेका छौँ”, सहायक प्रजिअ शर्माले भने ।
कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसङ्गीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मोनिका मेडिसिन स्टोरलाई रु पाँच हजार र अन्य चार वटालाई रु १०÷१० हजारका दरले जरिवाना गराइएको हो । जरिवाना तथा कारबाहीमा परेका स्वास्थ्य संस्थाले आंशिक सेवाका लागि अनुमति लिएर तोकिएभन्दा बढी सेवा प्रवाह गरेको भेटिएको थियो ।
तपाइँको प्रतिक्रीया