२०८२ असार १२ बिहीबार

राशिफल

जिप दुर्घटनामा तीन जनाको मृत्यु, गाउँ नै शोकमा

काठमाडौँ – आइतबार साँझ जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

वालिङ–१० मदिखोला नजिकै भएको दुर्घटनामा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो ।

“वालिङबाट गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ”, वडा अध्यक्ष ध्रुवप्रसाद पङ्गेनीले भने, “जिपमा सवार रहेकामध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुई जनाको मृत्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।”

जिपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।