काठमाडौँ – मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ ।
दुर्घटनामा छायाँनाथ रारा नगरपालिका – ७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ रारा नगरपालिका १० की १८ वर्षकी पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षकी प्यारी विक (कामी), ३५– ३६ वर्षका दानबहादुर रावल, २२ वर्षका सन्तोष बिकालुको मृत्यु भएको हो ।
त्यसैगरी, वडा नम्बर १२ का २२ वर्षका छाता साउद, वडा नम्बर १० की २० वर्षकी सरिता खड्का, १८ वर्षका अमर साउद र २२ वर्षका सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षका कर्णसिंह बुढा, १९ वर्षका शिव बुढा र २० वर्षका रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षकी चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षकी राममाया धामी, वडा नम्बर ११ का २२ वर्षका प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षका अजय कार्की, ३२ वर्षकी कमला बीसी राउतको ज्यान गएको छ ।
यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षका मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षका प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा २० पुरुष, १० महिला र दुई जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गर्नु भएको छ ।
११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । दुई वर्षकी एक बालिकालाई भने सामान्य मात्रै चोट लागेको प्रहरीले जनाएको छ ।
बसमा ४५ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रीया