२०८२ असार १२ बिहीबार

राशिफल

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

काठमाडौँ – चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गर्नुभयो । दुवै निकायले राहतस्वरुप तत्कालका लागि रु ५०÷५० हजार सहयोग गरेका हुन् । वन कार्यालयले रु दश लाख राहत प्रदान गर्ने भएकामा तत्कालका लागि रु ५० हजार वितरण भएकाले थप रु नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ ।

अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताउनुभयो । घरगोठ उज्यालो बनाउन आग्रह विगत केही वर्षयता जिल्लामा चितुवाको आतङ्क छ । बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको छ ।