काठमाडौँ – दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेलधुराको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
आइतबार बिहान ना८ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।
घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदै छ । घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीनजनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ । रासस
तपाइँको प्रतिक्रीया