काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ।
कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो ।
कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु सहुलियत दरमा चामल, नुन, चिनी, तेल, गेडागुडीलगायत खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ ।
सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउँछन् । नुन प्रतिकिलो दुई रुपैयाँ, चामल, दाल, फापर पिठोमा प्रतिकेजी पाँच, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच तथा भटमासको तेलमा प्रतिलिटरमा १० रुपैयाँ छुट छ ।
तपाइँको प्रतिक्रीया