काठमाडौँ – बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध पनि प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठी लागेर नेपाल बार एसोसिएसनका अध्यक्षसहित करिब १ दर्जन वकिलहरु घाइते भएका छन् ।
सर्वोच्च अदालत परिसमा प्रदर्शन तथा धर्नामा रहेका वकिलहरु र प्रहरीबीच धकेलाधकेल हुँदा झडपको स्थिति आएको हो । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत १ दर्जन वकिल घाइते भएको जनाइएको छ । लाठी लागेपछि महर्जन बेहोस भएका थिए ।
प्रहरीको लाठी लागेर घाइते हुनेमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत कानुन व्यवसायीहरू रहेका छन् । सर्वोच्च प्रशासनले ठूलो मात्रामा हतियारसहितका प्रहरीहरु परिचालन गरेर शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको वकिलहरुको आरोप छ ।
बार आबद्ध वकिलहरुले सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरको आदेशमा प्रहरी परिचालन गरेर दमन गरेको भन्दै उनलाई माफी माग्न आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रीया