किर्तिपुर,पौष १०
नेपाल गणित समाजको ४३ औँ साधारण सभा तथा अधिवेशन समाजका सभापति प्रा. डा.चेतराज भट्टको सभापतित्वमा सम्पन्न भयो ।नाष्टका उपकुलपति प्रा. डा. सुनिल बाबु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा उद्घाटन मन्तव्य राख्दै प्रा. डा. श्रेष्ठले समाजका गतिविधिहरूमा आफूहरू हातेमालो गर्न तयार रहेको बताउनु भयो । समाजका सचिव डा. दिनेश पन्थीले संचालन, सह-सचिव डा. जीवन काफ्लेले स्वागत तथा उप सभापति प्रा. डा. दिलबहादुर गुरुङ्गले धन्यवाद ज्ञापन गर्नुभएको उक्त सत्रमा समाजका पुर्व अध्यक्षहरू प्रा. डा. टंकनाथ धमला र प्रा.डा. भद्रमान तुलाधरले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । विभिन्न विद्दतवृत्तिहरू समेत प्रदान गरिएको उक्त सभाको वन्द सत्रमा समाजका सचिव डा. पन्थी र कोषाध्यक्ष अजय चौधरीले प्रस्तुत गरेका प्रतिवेदनहरू सभाले पारित गर्यो ।
प्रा.डा.भद्रमान तुलाधर संयोजक तथा समाजका सदस्यहरू बाबुराम चापागाई र केदार छत्कुली सदस्य रहनु भएको निर्वाचन कमिटिको सकृयतामा अबेर गरी सुरु भएको निर्वाचन प्रकृयाबाट प्रा.डा.नारायण प्रसाद पहारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भयो । उक्त समितिमा डा. श्रीराम खड्का, डा. परमेश्वरी कट्टेल र डा. ईश्वरमणि अधिकारी क्रमश: उपसभापति , सचिव र सहसचिवमा निर्वाचित भए भने कोषाध्यक्षमा भने अञ्जना पोखरेल निर्विरोध निर्वाचित भइन् । सदस्यहरूमा डा.फणिन्द्र प्रसाद भण्डारी, डा.तारा प्रसाद बन्जाडे, टेक बहादुर बुढाथोकी, विष्णु प्रसाद भण्डारी, हरि प्रसाद ज्ञवाली र हेमराज पाण्डे निर्वाचित भए । १३ सदस्यीय कार्यसमितिका थप २ सदस्य भने समितिले मनोनित गर्ने व्यवस्था रहेको छ ।
साधरण सभाको समापन सत्रमा अध्यक्षका प्रत्यासी प्रा.डा. कन्हैया झा ले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नवनिर्वाचित समितिलाई आफ्नो रचनात्मक सहयोग रहने धारणा व्यक्त गर्नुभयो । उक्त अवसरमा समितिका निवर्तमान अध्यक्ष प्रा.डा.भट्टले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नव निर्वाचित समितिका तर्फबाट प्रतिवद्दता मन्तव्य व्यक्त गर्नु हुँदै सभापति प्रा.डा. पहारीले मुलुकको दूर दराजदेखि साधारण सभाको सफलताका लागि काठमाडौंसम्म पाल्नुहुने सम्पूर्ण सदस्य महानुभावहरू प्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै निवर्तमान तथा पूर्ववर्ती समितिहरूका महत्वपूर्ण कार्यक्रमहरूको निरन्तरता कायम रहने बताउनु भयो । समाजका गतिविधिहरूमा थप उर्जा र गतिशिलता प्रदान गर्न आफ्नो समिति तन, मन र वचनले क्रियाशिल रहने धारणा व्यक्त गर्नुहुँदै आफ्नो नेतृत्वले समाजका सदस्य महानुभावहरूको विश्वासलाई सम्मान गर्ने र केन्द्र तथा प्रादेशिक समितिहरूका बिच थप समन्वय गरी समाजका गतिविदिहरू अझै प्रभावकारिता बनाउँदै लैजाने धारणा व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रीया