२०८२ असार ३ मङ्गलबार

राशिफल

मोडल अञ्जली लामा पहिलोपटक न्युयोर्क फेसन विकमा सहभागी

काठमाडौं : ट्रान्सजेन्डर मोडल अञ्जली लामा पहिलोपटक न्युयोर्क फेसन विकमा सहभागी भएकी छन् । बुधबार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा नेपालकी पहिलो ट्रान्सजेन्डर मोडलको रूपमा उनले क्याटवाक गरेको विश्व चर्चित फेसन म्यागाजिन भोगले जनाएको छ ।

जुन ७ देखि ९ दिनसम्म चल्ने यो एक अर्धवार्षिक फेसन शो हो । न्युयोर्क फेसन विकले ‘ग्ल्यामर वर्ल्ड’को ध्यान खिच्ने गर्छ । यो विश्वको चार प्रमुख फेसन विकमध्ये एक हो । जसलाई ‘बिग फोर’को रुपमा पनि चिनिन्छ । जसमा विश्वचर्चित फेसन डिजानरले आफ्ना डिजाइनलाई मोडलमार्फत् प्रस्तुत गर्छन् ।

यस वर्ष अञ्जलीले नेपाली मूलका विश्वप्रसिद्ध फेसन डिजाइनर प्रवल गुरुङको डिजाइनमा र्‍याम्पमा उत्रिएकी हुन् । मिसेल ओबामा, ओप्रा विन्फ्रे र साराह जेसिका पार्करजस्ता विश्वचर्चित सेलिब्रेटीहरूको फेसन डिजाइन गरिसकेका गुरुङले यस वर्षको शोको क्याटवाकका लागि अञ्जलीलाई छनोट गरेका थिए । यसअघि गुरुङले सन् २०११ मा नेपाली मोडल वर्षा थापालाई सोही फेसन विकको र्‍याम्पमा हिंडाएका थिए ।

नुवाकोटको विपन्न परिवारमा जन्मिएकी अञ्जली लामाको अन्तर्राष्ट्रिय फेसन प्लेटफर्ममा पहिलो सहभागिता भने होइन । सन् २०१७ मा उनी ल्याक्मी फेसन विकको रनवेमा सहभागी भइसकेकी छन् । तर न्युयोर्क फेसन विकमा भने उनले नेपालबाट पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा सहभागी हुने मौका पाइन् ।