काठमाण्डौ : आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स सँग खेल्दैछ ।
आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबररनोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो । क्यानडालाई ८ विकेटले पराजित गर्न उत्कृष्ट बलिङ गरेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक प्लेयर अफ दि म्याच चुनिए ।
नेपाल समूह ‘बी’ मा ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । अर्को सेमिफाइनलमा आज ओमान र आयरल्यान्ड पनि खेल्दैछन् ।
तपाइँको प्रतिक्रीया