२०८२ असार २ सोमबार

राशिफल

उदयपुरमा आफन्तबाटै तीन बालिका बलात्कृत

काठमाण्डौं : उदयपुरमा तीन बालिका बलात्कृत भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको पाइएको हो । तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन्

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन् ।

उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परिक्षणबाट खुल्न आएको छ ।