२०८२ असार ५ बिहीबार

राशिफल

पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेको भलो नहुने : मन्त्री आले

काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटो भन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएको छ ।

मङ्गलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा बतासले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटो भन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएको हो ।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको बोल्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताएको हो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताए । उनले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने काम गरेका छन् । त्यो कतै पनि सह्य हुनेवाला छैन । बतास समूहले पाएको अल्पकालीन आदेश पनि खारेज भइसकेको अवस्था छ । जसले पशुपतिप्रति गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन । हुँदा पनि हुँदैन । कम्तिमा आज हामीसँग त्यो धर्मशाला भएको भए झन्डै चार सय जना जनाभन्दा बढी बाबाहरूलाई त्यहाँ राख्न सकिन्थ्यो । वृद्धहरूलाई त्यहाँ राख्न सकिन्थ्यो । मलाई लाग्छ छिट्टै नेपाल सरकारको त्यो सम्पत्ति फिर्ता ल्याउनेछौँ ।’

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरूमाभन्दा भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।