काठमाडौं : नेपाल भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक दिउँसो तीन बजे ह्यात होटलमा बस्ने बुझिएको छ ।
सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउने अधिकारीहरुले बताएका छन् ।
ऊर्जा मन्त्रालयका सचिव कार्कीका अनुसार दुई देशबीचको ऊर्जा बैठकमा नेपाल(भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा विशेष छलफल हुने छ । नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई समेत उठाउने तयारी छ ।
नेपालले विद्युत् निर्यातको विषयलाई पनि प्राथमिकतामा राखेको छ । ‘वर्षायाममा बिजुली धेरै उत्पादन भएर खेर जाने अवस्था आउन सक्ने भएकाले त्यसअघि नै खुला बजारमा पहुँच स्थापित गर्ने प्रयास गरिने बैठकमा सहभागी भएका ऊर्जा मन्त्रालयका एकजना अधिकारीले बताए ।
तपाइँको प्रतिक्रीया