काठमाण्डौ : कतारले फागुन १६ गते अर्थात् फेब्रुअरी २८ देखि लागू हुने गरी कतारमा यात्रा गर्ने यात्रुहरूका लागि स्वास्थ्यका मापदण्डमा परिमार्जन गरेको खबर कतार ट्रिब्युनले लेखेको छ ।
परिमार्जित मापदण्ड अनुसार खोपको मात्रा पुरा लगाएका कतार नागरिक र कतारमा बसोबास गर्नेहरूले यात्रा गर्नुअघि पीसीआर परीक्षण गर्नु पर्ने र त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्नु पर्ने नियम हटाएको छ । कतार सरकारको नयाँ नियम रातो र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्नेहरूका लागि लागू हुने छ । नेपालसहित बङ्गलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई कतारले अहिले रातो सूचीमा राखेको छ ।
रातो सूचीमा परेका देशबाट यात्रा गर्ने कतारी र अन्य नागरिकले यदि खोपको मात्रा पूरा लगाएका छन् या कोरोना निको भएका छन् भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्ने छैन । तर यदि खोपको मात्र पूरा लगाएको छैन या प्रतिरक्षा प्रणालीको विकास भएको छैन भने पाँच दिन होम आइसोलेसनमा बस्न पर्नेछ ।
कतारमा भिजिटरको रूपमा जानेहरूले भने खोपको मात्रा पूरा लगाएको भए पनि एक दिन होटल क्वरेण्टीनमा बस्न पर्ने छ । तर खोप नलगाएका भिजिटरलाई भने कतारले प्रवेश अनुमति दिने छैन ।
तपाइँको प्रतिक्रीया