२०८२ असार ६ शुक्रबार

राशिफल

सत्तारुढ दलहरूको नयाँ समझदारी, अव गठबन्धन पनि जोगिने

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ । ‘गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने भनेको मतदानमा सहभागी नहुने भनिएको हो । अब माओवादी र एकीकृत समाजवादीले एमसीसीको विरुद्धमा भाषण गरेर बहिष्कार गर्ने छन्’ एक नेता भन्छन्, ‘कांग्रेस, जसपा र लोसपाले पक्षमा मतदान गर्नेछन्, एमालेले वेल घेर्छ, त्यसो हुँदा एमसीसी पास हुन्छ, गठबन्धन जोगिन्छ ।’

शुक्रबार नै कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्नि सापकोटालाई भेटेर एमसीसी अनुमोदनको संसदीय प्रक्रियाबारे सरकारको धारणा जानकारी गराएका छन् । सैद्धान्तिक छलफलमै मत विभाजन गराउने संसदीय प्रक्रिया नभएको भन्दै उनले सभामुखको धारणा मागेका थिए ।जवाफमा सापकोटाले यसबारे आफ्नो कुनै धारणा नभएको र सबै विषय आपसी छलफल र सहमतिकै आधारमा अघि बढिरहेको जानकारी गराएका थिए । लगत्तै प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो ।